आज विश्व खाद्य सुरक्षा दिवस

आज विश्व खाद्य सुरक्षा दिवस

काठमाण्डौ – आज विश्व खाद्य सुरक्षा दिवस, नेपालमा पनि मनाइँदैछ । सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न ‘खाद्य सुरक्षा सबैको जिम्मेवारी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिन्छ । 

संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् २०१८ मा एक प्रस्ताव पारित गर्दै जुन ७ तारिखलाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरेको हो । घोषणापछि सन् २०१९ देखि विश्वभर खाद्य सुरक्षा दिवस मनाउन थालिएको हो । दिवसको प्रवर्द्धन तथा समन्वय विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले संयुक्त रूपमा गर्दै आएका छन् । दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष झण्डै ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क छ । 

डब्ल्युएचओका अनुसार खाद्यजन्य रोगका कारण वार्षिक झण्डै चार लाख २० हजार जनाको ज्यान जाने गरेको छ । सुरक्षित र पोषणयुक्त खाद्यवस्तुमा पहुँच मानव जीवन र स्वास्थ्यका लागि अपरिहार्य मानिन्छ । दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थका कारण विभिन्न खाद्यजन्य रोग फैलिने गर्छन् । यस्ता जोखिमहरू प्रायः नाङ्गो आँखाले देख्न नसकिने भएकाले खाद्य सुरक्षालाई अझ चुनौतीपूर्ण विषयका रूपमा हेरिएको छ । 

विशेष गरी पाँच वर्षमुनिका बालबालिकासहित महिला, द्वन्द्व प्रभावित समुदाय, आप्रवासी तथा अन्य कमजोर वर्ग प्रभावित हुँदै आएका छन् । खाद्यवस्तुको उत्पादन, सङ्कलन, प्रशोधन, भण्डारण, ढुवानी, वितरण, तयारी तथा उपभोगका हरेक चरणमा सुरक्षा मापदण्ड पालना गरिएमा खाद्यजन्य रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ । 

सरकार, उत्पादक, व्यवसायी, वैज्ञानिक, नागरिक समाज र उपभोक्ताको साझा प्रयासबाट मात्र सुरक्षित खाद्यवस्तुको सुनिश्चितता गर्न सकिने विज्ञको भनाइ छ ।

खबरपाटी
खबरपाटी