काठमाडौं - दक्षिण एसियाली मुलुकका सरोकारवालाले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी र समुदाय–केन्द्रित उत्थानशीलता निर्माणका लागि क्षेत्रीय सहकार्य र लगानी बढाउनुपर्नेमा जोड दिएका छन्।
‘सुरक्षित भविष्य निर्माण : समुदायको उत्थानशीलतामा लगानी’ विषयक दक्षिण एसिया नीति संवादमा सहभागीहरूले पूर्वानुमानमा आधारित पूर्वकार्य, समावेशी तथ्यांक प्रणाली, जोखिम हस्तान्तरण, प्रभावमा आधारित पूर्वसूचना र स्थानीय तहको सहभागिता सुदृढ गर्नुपर्ने साझा प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा जलवायु परिवर्तन, बाढी, पहिरो, अत्यधिक गर्मी तथा अन्य प्राकृतिक विपद्का जोखिम न्यूनीकरणका लागि समुदाय–नेतृत्वको तयारी, लैङ्गिक समावेशीकरण र दीर्घकालीन लगानी आवश्यक रहेको निष्कर्ष निकालिएको थियो। नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश र पाकिस्तानका प्रतिनिधिहरूले आ–आफ्ना अनुभव तथा असल अभ्याससमेत साझा गरेका थिए।