काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौतीबीच आर्थिक समृद्धि र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताएकी छिन्।
विश्व वातावरण दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रममा उनले ‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ नाराले नेपालको दिगो विकास यात्रालाई मार्गदर्शन गर्ने बताइन्। नेपालको जलवायु परिवर्तनमा न्यून योगदान भए पनि हिमालदेखि तराईसम्म यसको असर देखिन थालेको उनले उल्लेख गरिन्।
मन्त्री चौधरीले सरकारले हरित अर्थतन्त्र, जलवायु अनुकूलन, वन तथा जैविक विविधता संरक्षणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन्। उनले वायु प्रदूषण नियन्त्रण, जलस्रोत संरक्षण र जलवायु उत्थानशील पूर्वाधार निर्माणमा जोड दिँदै यी अभियानलाई राष्ट्रिय आन्दोलनका रूपमा अघि बढाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन्।