काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका चुनौती सामना गर्दै समाधान गर्न सकिने बताएका छन्। पार्टीभित्र नेतृत्व परिवर्तनको बहस भइरहेका बेला महासचिव पोखरेल सामाजिक सञ्जालमा यस्तो बताएका हुन्।
हाल जनतासँगको सम्बन्ध कमजोर भएको देखिए पनि पुन: बलियो बनाउन सकिनेमा आफू आशावादी उनले बताए। तर त्यसका लागि खुला आत्मसमिक्षासहित एकता र अनुशासन अपरिहार्य रहेको उनको जोड छ।
उनले लेखेका छन्, ‘पार्टीका सामु चुनौती छन्, तर तिनको सामना गर्न सकिन्छ। समस्या छन्, समाधान गर्न सकिन्छ। निर्वाचन परिणामले जनतासँगको सम्बन्ध कमजोर भएको देखाएको छ, त्यसलाई पुन: मजबुत बनाउन पनि सकिन्छ।’
‘तर त्यसका लागि खुला आत्मसमीक्षा, कमजोरीको स्विकारोक्ति, एकता र अनुशासन अपरिहार्य छन् । यी सबै काम संस्थागत र विधिसम्मत प्रक्रियाबाट मात्र सफल हुन सक्छन्,’ महासचिव पोखरेलले थप लेखेका छन्।