रास्वपा सभापति लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री खनाल नयाँदिल्ली जाने

रास्वपा सभापति लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री खनाल नयाँदिल्ली जाने

काठमाडौं – रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणमा नयाँदिल्ली जाने भएका छन्। 

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आगामी शनिबार तीनदिने भ्रमणका लागि दिल्ली जाने तयारी रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए। परराष्ट्रमन्त्रीका रूपमा खनालको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ। 

यसअघि उनी मरिससमा आयोजित नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएका थिए। त्यस क्रममा उनले भारतीय समकक्षी जयशंकर र अन्य केही नेतासँग भेटवार्ता गरेका थिए। 

मरिससमा खनाल र जयशंकरबीच बदलिएको परिवेशमा नेपाल(भारत सम्बन्धलाई अगाडि बढाउने विषयमा छलफल भएको थियो। 

नेपालको नयाँ सरकारका प्राथमिकताहरूबारे काठमाडौँमा विस्तृत रूपमा छलफल गर्ने सहमतिसमेत भएको थियो।

जयशंकरले नयाँ सरकारसँग संवाद गर्न र प्राथमिकता बुझ्न विदेश सचिव विक्रम मिश्रीलाई काठमाडौँ पठाउने प्रस्ताव गरेका थिए। तर प्रधानमन्त्री शाहले प्रोटोकल कारण देखाउँदै भेट्न अस्वीकार गरेपछि मिश्रीको भ्रमण स्थगित भएको थियो। 

यहीबीचमा भारत र चीनले नेपाली भूभाग लिपुलेक हुँदै कैलाश(मानसरोवर यात्रा पुनः सुरु गर्ने निर्णय गरेपछि विवाद बल्झिएको छ। मिश्रीको काठमाडौँ भ्रमण स्थगित भएपछि खनाललाई पहिलो अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सहभागी हुन दिल्ली निमन्त्रणा गरिएको थियो। तर केही अफ्रिकी मुलुकमा इबोलाको प्रकोप देखिएपछि १ जुन (१८ जेठ) का लागि निर्धारित उक्त सम्मेलन स्थगित भयो।

परराष्ट्रमन्त्री खनालले दिल्लीमा सरकारको प्रतिनिधित्व गर्दै भारतीय समकक्षी जयशंकर र अन्यसँग छलफल गर्नेछन्। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि भारतीय पक्षलाई अनुरोध पठाइएको छ। 

खनालले विदेशमन्त्री जयशंकर, वाणिज्यमन्त्री पीयूष गोयल र अन्य उच्च अधिकारीसँग भेट गर्नेछन्। दिल्लीबाट बीबीसी नेपाली सेवासँग कुरा गर्दै रास्वपा सांसद दीपक बोहोराले सभापति लामिछाने फर्किएलगत्तै मन्त्री खनाल भारत जाने पुष्टि गरे। 

परराष्ट्रमन्त्री खनालले मन्त्रीहरूसँग विभिन्न चरणमा छलफल गरी भारतीय सहयोगमा सञ्चालित आयोजनाहरूका बारेमा र नेपालका प्राथमिकताका बारेमा छलफल गरिसकेका छन्। खनालको दिल्ली भ्रमणका क्रममा कनेक्टिभिटीदेखि सीमा विवाद समाधान गर्नेसम्मका विषयमा संवाद हुनेछ। 

दुई पक्षीय पञ्चेश्वर, पूर्व(पश्चिम रेल्वे, जनकपुर(अयोध्या रेल्वे, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय उडान तथा व्यापार र पारवहनसँग सम्बन्धित विषयमा छलफल गर्ने तयारीसमेत छ। 

पछिल्लो समय सीमा विवादका कारण द्विपक्षीय सम्बन्धमा देखिएको अविश्वास हटाउने विषयमा खनाल र जयशंकरबीच छलफल हुनेछ।

परराष्ट्रमन्त्री खनालले वाणिज्यमन्त्री गोयलसँग पेट्रोलियम पाइपलाइन विस्तार, नेपालमा चिनी निर्यातमा भारतले लगाएको प्रतिबन्ध फुकुवा र भारतमा नेपालीलाई भुक्तानीका लागि ुक्युआरु कार्यान्वयन गर्ने विषयमा छलफल गर्ने सम्भावना रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।

भाजपा अध्यक्ष नितिन गडकरीको निम्तोमा सोमबार नयाँदिल्ली पुगेका लामिछाने मंगलबारदेखि नै उच्चस्तरीय भेटघाटमा व्यस्त थिए। मंगलबार उनले भाजपा मुख्यालयमा अध्यक्ष नवीनसहित शीर्ष नेताहरूलाई भेटेका थिए। 

त्यसपछि उनले भारतीय विदेशमन्त्री एस जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गरे।  यस्तै उनले बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। 

लामिछाने र रास्वपाको टोलीले बिहीबार अयोध्याको राम मन्दिर भ्रमण गर्ने कार्यक्रम छ। 

उनले नयाँदिल्लीमा रहेका नेपाली प्रवासीसँग पनि अन्तर्क्रिया गर्नेछन्।

खबरपाटी
खबरपाटी