काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोलले नगर प्रहरीलाई नमूना नगर प्रहरी बन्नेगरी काम गर्न निर्देशन दिनुभएको छ ।
आज महानगर प्रहरी प्रमुखको पदोन्नति तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रममा कार्यवाहक मेयर डङ्गोलले नागरिकसँग नम्र व्यवहार गर्दै सेवा प्रवाह गर्न निर्देशन दिनुभएको हो । उहाँले नगर प्रहरी काठमाण्डौ महानगरको ‘ब्रान्ड एम्बेसडर’ भएको उल्लेख गर्दै नमूना प्रहरीका रूपमा काम गर्न आग्रह गर्नुभयो ।
कार्यवाहक मेयर डङ्गोलले नगर प्रहरीलाई नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएर काम गर्न तथा ‘चेन अफ कमान्ड’ को पूर्ण पालना गर्न निर्देशन दिनुभयो । उहाँले बर्खायामलाई ध्यानमा राख्दै सम्भावित विपद् तथा उद्धार कार्यका लागि तयारी अवस्थामा रहन पनि नगर प्रहरीलाई आग्रह गर्नुभयो ।
कार्यवाहक मेयर डङ्गोलले नगर प्रहरीलाई दिनमा कम्तीमा तीन पटक शहरका विभिन्न क्षेत्रमा गस्ती सञ्चालन गर्न निर्देशन दिनुभयो । सडक, फुटपाथ, सडकपेटी अतिक्रमण तथा फोहोर व्यवस्थापनसम्बन्धी गतिविधिमाथि निरन्तर निगरानी राख्नुपर्ने उहाँको भनाइ छ ।
डङ्गोलले नगर प्रहरीको वृद्धि–विकास, सरुवा, बढुवा तथा तह मिलानका विषय कानूनसम्मत रूपमा अगाडि बढाइने उल्लेख गर्नुभयो ।
काठमाण्डौ महानगरपालिकाको महानगर प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशीले महानगरका नीति निर्देशनहरू अक्षरशः पालन गर्ने बताउनुभयो । महानगरले आज नगर प्रहरी उपरीक्षक जोशीलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति गरी जिम्मेवारी हस्तान्तरण गरेको हो ।