काठमाडौं - प्रहरीले हात्तीको दाह्रासहित पाँच जना पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हात्तीको दाह्रासहित पाँच जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा राजिव महर्जन, आयुष महर्जन, टेकप्रसाद गुरूङ, पुरन बोहोरा र सन्तबहादुर भुजेल छन् । उनीहरूलाई मनमैजुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अवैध रूपमा वन्यजन्तु हात्तीको दाह्रा ओसारपसार विक्री वितरण तथा सञ्चय गरेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूले हात्तीको दाह्राको टुक्रा बनाएर खाली जग्गामा गाडेर राखेका थिए । उनीहरूको साथबाट लागुऔषध ट्रामाडोल समेत बरामद गरिएको छ ।
पक्राउ परेकाहरूलाई लागुऔषध नियन्त्रण ऐन २०३३ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२१ बमोजिम कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली र डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ ।