काठमाण्डौ - जलवायु परिवर्तनले निम्त्याएको बढ्दो गर्मीको प्रकोप कम गर्न आज विश्वभर ‘हिट एक्शन डे’ अर्थात् गर्मी कम गर्न गरिने कार्य दिवस मनाईंदैछ । तातो गर्मी र तातो हावाले निम्त्याउने (लू) को प्रकोप कम गर्न र सुरक्षित रहन गरिने कार्यलाई हिट एक्सन भनिन्छ ।
यस्ता कार्यहरू अन्तर्गत घर वा कार्यस्थलको तापक्रम व्यवस्थापन गर्ने, शरीरलाई चिसो राख्ने र विपद् व्यवस्थापन सम्बन्धी पूर्वतयारीका उपायहरू अपनाइन्छ । यो वर्ष पनि समुन्द्रको सतहको तापक्रममा आएको परिवर्तनले विकसित हुँदै गरेको एल निनोको प्रभावले नेपाललगायत एशियाली देशमा यो वर्षको मनसुनी अवधिमा तापक्रम औसतभन्दा बढी हुने प्रक्षेपण गरिएको छ ।
तराई क्षेत्रमा प्रि–मनसुनी गतिविधिमा कमी आउने हुँदा वर्षा कम र गर्मी बढी हुने मौसमविद्हरुले बताउँदै आएका छन् । जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले बढ्दो विश्वव्यापी तापक्रम र एल निनोको प्रभावले नेपाललगायत एशियाली क्षेत्रमा गम्भीर असर पुरयाउने चेतावनी दिनुभएको छ ।
बढ्दो गर्मीबाट विद्यार्थी, कृषि कार्यमा संलग्न व्यक्तिहरू, जोखिम समूहमा रहने महिला, बालबालिका, मजदुरहरू र ज्येष्ठ नागरिकहरू गम्भीर रूपमा प्रभावित हुने भएकाले यसप्रति बिशेष सावधानी अपनाउन विज्ञको सुझाव छ । तातो लहरले लू लगायतका स्वास्थ्य समस्याहरूको जोखिम बढने भएकाले अनुकूलनका उपायहरू अपनाउन सबै पक्ष जिम्मेवार बन्न आवश्यक रहेको जलवायुविज्ञ उप्रेतीले बताउनुभएको छ ।