अवरुद्ध बीपी राजमार्ग खुलाउन समय लाग्ने

अवरुद्ध बीपी राजमार्ग खुलाउन समय लाग्ने

काठमाण्डौ - रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि हिजो दिउँसोदेखि अवरुद्ध बीपी राजमार्ग खुलाउन समय लाग्ने भएको छ । 

राजमार्ग हिजोदेखि नै पूर्ण रूपमा अवरुद्ध छ । रोशी खोलाको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेशी, ठूलोढुंगा तथा माम्ती, नेपालथोक र सिन्धुलीतर्फ आँपघारी क्षेत्रमा डाइभर्सन बगाएको छ । 

त्यस लगत्तै काभ्रेको मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलिखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोटमा गाडीलाई रोकिएको अर्थात् ‘होल्ड’ गरिएको थियो । आज रोकिएका गाडीलाई सुरक्षित ठाउँमा पठाइएको छ । 

यस्तै, बीच बाटोमै अलपत्र परेका यात्रुलाई पनि वैकल्पिक व्यवस्था गरी पठाउन थालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । मङ्गलटारसम्म यात्रु बोकेर आएका गाडीलाई त्यहाँ रोकेर यात्रुलाई पैदल हिँडाएर अर्को गाडीको व्यवस्था गरी तेमालको कालधार–नारायणस्थान–भकुण्डे हुँदै धुलिखेलतर्फ पठाइएको छ । 

डाइभर्सन बगाएको क्षेत्रमा मर्मतको काम भइरहेको छ । मौसममा सुधार आएपछि र डाइभर्सन मर्मतको काम सकेपछि मात्रै गाडीलाई आवतजावत खुला गरिनेछ । सडकको अवस्थाबारे जानकारी लिनुपरेमा नेपाल प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न प्रहरीको अनुरोध छ ।

खबरपाटी
खबरपाटी