दशरथ रंगशालामा सुकुम्बासीको स्वास्थ्य जाँच : शारीरिक र मानसिक सेवा दुवैमा महानगरको सक्रियता

दशरथ रंगशालामा सुकुम्बासीको स्वास्थ्य जाँच : शारीरिक र मानसिक सेवा दुवैमा महानगरको सक्रियता

काठमाडौं महानगरपालिकाले अव्यवस्थित बस्तीबाट स्क्रिनिङका लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्बासीलाई लक्षित गर्दै शारीरिक तथा मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ।

महानगरका अनुसार हालसम्म कम रक्तचापका समस्या भएका ४ पुरुष र २ महिला गरी ६ जना, ढाड तथा जोर्नी दुखाइ भएका २ पुरुष, टाउको दुखाइ भएका १८ पुरुष र ६ महिला, गर्भवती २ जना, काटेर चोटपटक लागेका १ जना तथा अन्य विभिन्न स्वास्थ्य समस्या भएका १२ जनालाई उपचार सेवा प्रदान गरिएको छ।

त्यसैगरी मनोसामाजिक परामर्श सेवाअन्तर्गत बहुविवाहको असर भोगिरहेका, अभिभावक गुमाएका महिला, विद्यालय उमेरका बालबालिका तथा रोजगारीमा रहेका अभिभावकले आफ्ना मानसिक समस्या र चिन्ताबारे परामर्श लिएका छन्।

स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालका अनुसार पारिवारिक तथा रोजगारीका कारण मानसिक तनाव बढेको देखिएको छ। विशेषगरी बालबालिकाको शिक्षालाई कसरी निरन्तरता दिने भन्ने विषयमा अभिभावकमा बढी चिन्ता देखिएको उनले जानकारी दिएका छन्।

महानगरले स्वास्थ्य सेवा पहुँचमा ल्याउने र जोखिममा रहेका समुदायको अवस्थालाई सुधार गर्ने उद्देश्यसहित यस्तो अभियानलाई निरन्तरता दिने जनाएको छ।

खबरपाटी
खबरपाटी