काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाउने अभियान जारी

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाउने अभियान जारी

काठमाडौं – सरकारले काठमाडौँ उपत्यकाका नदी किनार तथा जोखिमयुक्त सार्वजनिक र सरकारी जग्गा खाली गर्ने अभियानलाई आइतबार पनि निरन्तरता दिएको छ।

हिजोबाट बाँकी रहेका संरचनाहरू हटाउन र जग्गा खाली गराउन सरकारी टोली बिहानैदेखि खटिएको छ। काठमाडौँ महानगर क्षेत्रअन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ को गोठाटार बुद्धचोक र वडा नम्बर ९ को मनोहरा टोलका जोखिमपूर्ण बस्तीहरू खाली गर्न थालिएको हो।

संरचना भत्काउनुअघि त्यहाँ बसोबास गर्दै आएका नागरिकका सरसामान सुरक्षित रूपमा निकाल्न तथा ढुवानी गर्न सुरक्षाकर्मीले सहयोग गरेका थिए। ती क्षेत्रमा रहेका सबै संरचना हटाइसकेपछि काठमाडौँ वडा नम्बर ९ को गैरीगाउँ र वडा नम्बर ३१ को शान्तिनगरस्थित नदी किनारका सार्वजनिक तथा सरकारी जग्गा पनि खाली गरिने जनाइएको छ।

यसअघि शनिबार काठमाडौँ वडा नम्बर ११ स्थित थापाथली क्षेत्रको बस्ती शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा खाली गरिएको थियो।

बस्ती हटाउने क्रममा हालसम्म २१४ परिवार सरकारको सम्पर्कमा आएका छन्। प्रभावित परिवारहरूलाई तत्कालका लागि विभिन्न होटलहरूमा बसोबास तथा खानपानको व्यवस्था मिलाइएको सरकारले जनाएको छ।

खबरपाटी
खबरपाटी