देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा : सतर्कता अपनाउन अनुरोध

देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा : सतर्कता अपनाउन अनुरोध

काठमाडौं – देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा आइतबार (वैशाख ६)देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार मधेस प्रदेशलगायत वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा ३८ डिग्री सेल्सियस आसपास मापन गरिएको छ । 

विभागका अनुसार, मंगलबार (वैशाख ८) लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो हावा तथा तातो लहरको सम्भावना छ । विभागले सोमबार विशेष बुलेटिन जारी गर्दै कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रुपन्देही जिल्ला प्रभावित हुने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मधेस प्रदेशलगायत वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ । सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

दिउँसो, देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, कोसी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

राति देशको हिमाली भूभागमा आंशिक बादल लाग्ने र पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।

खबरपाटी
खबरपाटी