काठमाडौँ - नेपाली कांग्रेसले आफ्ना पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण मागेको छ।
बुधबार बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले अनुशासन उल्लंघन गरेको भन्दै स्पष्टीकरण माग्ने निर्णय गरेको हो।
खड्काले पार्टीको नक्कली लेटरप्याड बनाएर आफूसँग नभएको जिम्मेवारी उल्लेख गरी अनधिकृत वक्तव्य जारी गरेको पाइएको अनुशासन समितिको ठहर छ।
०८२ चैत १४ गते समेत यस्तै प्रकृतिको वक्तव्य जारी गरेका थिए। उक्त समयमा अनुशासन समितिले २०८२ चैत १८ गते निर्णय गर्दै उनलाई एक पटकका लागि सचेत गराउनेु निर्णय गरेको थियो।
सचेत गराउँदा गराउँदै पनि खड्काले २०८२ चैत ३० गते नेपाली कांग्रेसको नक्कली लेटरप्याड प्रयोग गरी आफू पदमै रहेको दाबी गर्दै प्रेस विज्ञप्ति जारी गरेको समितिको भनाइ छ। यो कार्य पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम अनुशासन उल्लंघन भएको भन्दै खड्कालाई ७ दिनभित्र चित्तबुझ्दो जवाफ पेश गर्न निर्देशन दिइएको छ।