प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री मोदीले दिए भारत भ्रमणको निम्तो

प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री मोदीले दिए भारत भ्रमणको निम्तो

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिएका छन् । 

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री शाहले १३ चैतमा पदभार ग्रहण गरेलगत्तै मोदीले बधाई सन्देशमार्फत निम्तो दिएको बताएका छन्।

मोरिससमा रहेका मन्त्री खनालले भारतीय सञ्चारमाध्यम वीअनसँग कुराकानी गर्दै मोदीले निमन्त्रणा गरेको र त्यसलाई प्रधानमन्त्री शाहले स्वीकार गरिसकेको खुलाएका हुन्।

खनालले भ्रमणलाई परिणाममुखी बनाउन गृहकार्य भइरहेको समेत बताए । 

‘प्रधानमन्त्रीले निम्तो स्वीकार गर्नुभएको छ,’ उनले भने, ‘दुवैतर्फबाट प्राविधिक र राजनीतिक तहमा तयारी पूरा भएपछि मात्र भ्रमण हुनेछ, ताकि यसले ठोस नतिजा दिन सकोस्।’ द्विपक्षीय संयन्त्रमा छलफल गरेर उपयुक्त हुने गरी भ्रमणको मिति तय गरिने मन्त्री खनालले बताए। 

दुवै पक्षले भ्रमणबाट ठोस उपलब्धि हासिल गर्ने लक्ष्य राखेको उनले बताए। मन्त्री खनाल भारतको विदेश मन्त्रालय, मोरिसस सरकार र इन्डिया फाउन्डेसनद्वारा आयोजित नवौं हिन्द महासागर सम्मेलन (आईओसी) मा सहभागी हुन त्यहाँ पुगेका हुन्। परराष्ट्रका एक अधिकारीका अनुसार यस पटकको उच्चस्तरीय भ्रमणलाई औपचारिकतामा सीमित नराख्ने स्पष्ट उद्देश्य छ। 

काठमाडौं र नयाँदिल्ली दुवै पक्षले ठोस उपलब्धि सुनिश्चित गर्न काम गरिरहेको उनको भनाइ छ।

खनाल र भारतका विदेशमन्त्री एस जयशंकरबीच शुक्रबार भएको आईओसीको साइडलाइन भेटवार्तामा नेपालका प्राथमिकता अनुसार परियोजना र कार्यक्रम तय गरेपछि मात्र भ्रमण तय गर्ने सहमति भएको छ। ‘दुवै देशले तय गरेका प्राथमिकतामा केन्द्रित हुँदै द्विपक्षीय सबै संयन्त्र सक्रिय बनाउने र नयाँ सहकार्यका क्षेत्र खोज्ने सहमति भएको छ,’ मन्त्री खनालले भने । उनले काठमाडौंले स्पष्ट मार्गचित्र र प्राथमिकता तय गरेपछि त्यसलाई भारतीय पक्षसँग छलफल गरिने बताए।

खबरपाटी
खबरपाटी