काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई फेवातालमा रहेको आफ्नो विवादित जग्गाबारे पत्रकार सम्मेलन गरी वास्तविकता जानकारी गराउन आग्रह गरेका छन्।
अन्यथा जनविश्वास गुम्ने चेतावनी दिँदै सांसद साम्पाङले एउटा दाईले दिएको सुझाव सम्झेर फेवातालको जग्गाबारे यथार्थ कुरा बताउन गृहमन्त्री गुरुङलाई अनुरोध गरेका हुन्। पोखराको फेवातालमा २० रोपनी जग्गा तपाईंको नाममा छ रे भन्ने खबरले सामाजिक सञ्जाल तातिँदा नमज्जा लागेको छ। खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस्’, साम्पाङले सोमबार बिहानै सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नैतिकताको सवाल खडा भयो। अब यो सवालको जवाफ नदिने हो भने जनताले कुरा काट्छन् र विश्वास गर्दैनन्। तपाईंलाई मान्दैनन्। प्रहरीले पनि टेर्न छाड्छन्। मलाई आशा छ– तपाईंले एउटा दाजुले दिएको सल्लाह सम्झेर भनेको मान्नुहुनेछ। एकदिन म तपाईंलाई हृदयदेखि नै बधाई दिनेछु। त्यो दिन चाँडै आवोस्।’