काठमाडौँ – मुलुकको स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक उच्चस्तरिय समिति गठन गरेको छ।
स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोगकत्वमा एक उच्चस्तरीय समिति गठन गरेकी हुन्।
स्वास्थ्य मन्त्री निशा मेहताले आइतबार गरेको मन्त्रीस्तरीय निर्णयअनुसार समितिमा मन्त्रालयकै विभिन्न महाशाखाका प्रमुख छन्।
डा. श्रेष्ठको संयोजकत्वमा रहेको समितिमा डा. सरोज शर्मा महाशाखा प्रमुख, डा. भीमप्रसाद सापकोटा महाशाखा प्रमुख, मित्रप्रसाद घिमिरे (उपसचिव), उषा तण्डुकार (वरिष्ठ औषधी व्यवस्थापक) र सुरज प्रकाश अर्याल (शाखा प्रमुख) सदस्य छन्।
यो समितिको कामबारे मन्त्री मेहताले चार बुँदामा कार्यगत निर्देशन समेत दिएकी छिन्। मन्त्रालय मातहतमा रहेका संघीय, प्रदेश स्तरका सबै अस्पतालमा बिरामीको उपचार, रेकर्ड, रेफरल, पुन: सेवा र क्लिनिकल फलोअप व्यवस्थित गर्न बिरामीको अभिलेख प्रणाली (प्यासेन्ट रेकर्ड सिस्टम) का लागि डिजिटल, एकीकृत र अन्तरआबद्ध स्वास्थ्य सूचना प्रणाली विकास गर्न भनिएको छ। यसका लागि तीन महिनाको अवधि दिइएको छ।
यस्तै अनावश्यक निजी अस्पताल रिफर गर्ने प्रवृत्ति नियन्त्रण गर्ने स्पष्ट रेफर प्रोटोकल प्रणाली लागू गर्नसमेत निर्देशन दिइएको छ।
यसैगरी समितिले सरकारी अस्पतालमा स्वास्थ्यकर्मीहरूको हाजिरी अनुगमन गर्न जीआईओएमएस अनिर्वाय लागू गर्ने गराउने जिम्मा पाएको छ ।
यो समितिलाई आगामी १५ दिनभित्र ‘फ्रि हेल्थ पोर्टल’ निर्माण गरी लागू गर्न समेत मन्त्री मेहताले निर्देशन दिएकी छिन्।
यस्तै अस्पतालहरूको फार्मेसीमा औषधीको मौज्दात तथा मूल्य देखिने डिजिटल प्रणाली १५ दिनभित्र निर्माण गरी सञ्चालनमा ल्याउने र अनुगमन समेत गर्न समेत स्वास्थ्यमन्त्रीले यो समितिलाई निर्देशन दिएकी छिन्।