काठमाडौं - सरकारले पश्चिम एसियामा रहेका नेपाली नागरिकको उद्धार र आवागमन सहज बनाउन विशेष उडानको व्यवस्था गरेको छ ।
“पश्चिम एसियामा रहेका नेपाली नागरिकहरूको उद्धार र आवागमन सहज बनाउने तथा आवश्यक हवाई सेवा सञ्चालन गर्ने विषयमा छलफल भएको र माननीय परराष्ट्रमन्त्रीज्यूको निर्देशनमा नेपाल वायुसेवाले मिति ३ देखि ५ अप्रिल २०२६ सम्म निम्न क्षेत्रमा विशेष उडान सञ्चालन गर्ने ब्यहोरा अनुरोध छ,” परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेपाल एयरलाइन्सको एउटा विमान अप्रिल ३ मा काठमाडौंबाट दुबई जाने र अप्रिल ४ मा दुबईबाट काठमाडौं फर्कनेछ । यस्तै, नेपाल एयरलाइन्सको अर्को उडान अप्रिल ५ मा काठमाडौंबाट दमाम र अप्रिल ५ मा दमामबाट काठमाडौं फर्कने गरी मिलाइएको परराष्ट्रले जनाएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालको पहलमा ३१ मार्च २०२६ का दिन परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल वायुसेवा निगमका उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको बैठकमा पश्चिम एसियामा रहेका नेपाली नागरिकहरूको उद्धार र आवागमन सहज बनाउने तथा आवश्यक हवाई सेवा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।
परराष्ट्रमन्त्रीको निर्देशनमा नेपाल वायुसेवाले ३ देखि ५ अप्रिल २०२६ सम्म पश्चिम एसियामा विशेष उडान सञ्चालन गर्न लागेको हो ।
पश्चिम एसियामा विद्यमान तनाव तथा सुरक्षा अवस्थाका कारण यी क्षेत्रमा नियमित उडानहरू २८ फेब्रुअरी २०२६ देखि स्थगित रहेका थिए ।
उक्त उडानहरूको व्यवस्था गरेकोमा परराष्ट्रले नेपाल एयरलाइन्सलाई धन्यवाद समेत दिएको छ । उक्त उडान सञ्चालनका लागि आवश्यक बीमा व्यवस्था सहज बनाउन सहयोग पुर्याएकोमा राष्ट्रिय बिमा कम्पनी लिमिटेडप्रति पनि मन्त्रालयले कृतज्ञता व्यक्त गरेको छ ।
यसअघि १ अप्रिल २०२६ मा कुवेत एयरवेजको एउटा उडान भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उक्त उडानमा २९१ यात्रु र कुवेतमा हालको परिस्थितिभन्दा अन्य कारणले मृत्यु भएका नौ जना नेपाली नागरिकको शव समेत ल्याइएको थियो ।