भ्रष्टाचार नियन्त्रण गरी नागरिकले अनुभूत गर्नेस्तरमा सुशासन कायम गर्न आह्वान

भ्रष्टाचार नियन्त्रण गरी नागरिकले अनुभूत गर्नेस्तरमा सुशासन कायम गर्न आह्वान

काठमाडौँ - सरकारले भ्रष्टाचार नियन्त्रण गरी नागरिकले अनुभूत गर्नेस्तरमा सुशासन कायम गर्न मातहतका निकायलाई आह्वान गरेको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आज एक सूचना जारी गरी मन्त्रालय, आयोग, कार्यालय र मातहतका निकायबाट हुने सेवा प्रवाह, विकास निर्माण, राजस्व प्रशासन, ठेक्का तथा खरिद प्रक्रियामा सार्वजनिक पद तथा अधिकारको दुरुपयोग गरी हुने भ्रष्टाचारको अन्त्य गरी नागरिकले अनुभूति गर्नेस्तरमा सुशासन र सदाचार कायम गर्न आवश्यक पहलकदमी लिन आह्वान गरेको हो।

मुख्यसचिव सुमनराज अर्यालले सरकारी निकायमा कुनै कीसिमको अनियमितता वा भ्रष्टाचारजन्य कार्य भएको पाइएमा निकाय वा कार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाइने भएकाले सोही बमोजिम गर्ने गराउने व्यवस्थाका लागि समेत अनुरोध गरेका छन्।

सरकारी कार्यालय र कर्मचारीहरूलाई दक्ष, व्यावसायिक र सदाचारयुक्त बनाई जनविश्वास आर्जन गर्ने, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा असहायलाई सार्वजनिक सेवा प्रवाहमा प्राथमिकता दिने, सेवाग्राहीसँग सभ्य व्यवहार गर्ने, कर्मचारीले तटस्थता, पारदर्शिता, तथा कानूनमा उल्लिखित नैतिक एवं अनुशासनका विषय लगायतका आचारसंहिताको कडाइकासाथ परिपालना गर्ने गराउने प्रमुख दायित्व कार्यालय प्रमुखको भएको पनि सूचनामा उल्लेख छ। 

सूचनामा भनिएको छ, 'मन्त्रालय, आयोग, कार्यालय र मातहतका निकायबाट हुने सेवा प्रवाह, विकास व्यवस्थापन र नियमित कार्य सञ्चालनमा चुस्तता, मितव्ययिता, पारदर्शिता, प्रभावकारिता एवम् आचरणगत पक्षमा सुधार गरी मुलुकमा सुशासनको प्रत्याभूति गराउने व्यवस्थाका लागि अनुरोध छ।  साथै, यहाँको मन्त्रालय, आयोग, कार्यालय र अन्तर्गतका निकायमा हुन सक्ने मोलमोलाहिजा, भ्रष्टाचार र अनियमिताका घटनाको सूक्ष्म निगरानी राख्ने, छड्के जाँच गर्ने, गराउने र भ्रष्टाचारसम्बन्धी कुनै जानकारी प्राप्त हुने वित्तिकै सम्बन्धित निकायमा लेखी पठाउनसमेत अनुरोध छ।'

साथै, आर्थिक अनियमितता, भ्रष्टाचारको रोकथाम र नियन्त्रणका लागि नीतिगत, कानूनी, संस्थागत, प्रक्रियागत र व्यवहारगत पक्षमा सुधार ल्याउन गरिनुपर्ने महत्त्वपूर्ण सुझावहरू कार्यालयमा उपलब्ध गराउन पनि अनुरोध गरिएको छ।

खबरपाटी
खबरपाटी