वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने

वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने

काठमाडौँ - सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएसँगै बुधबारदेखि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने भएकी छन्।  कायममुकायमको जिम्मेवारी सम्हाल्ने मल्ल कानुन व्यवसायी पृष्ठभूमिकी हुन् ।

वकालतमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष बिताएका राउत वि.सं २०८१ असोज २० मा प्रधानन्यायाधीश बनेका थिए । २०७३ साउन १७ गते न्यायाधीशका रूपमा प्रवेश गर्दा नै उनी प्रधानन्यायाधीशको रोलक्रममा थिए । ६५ वर्ष उमेरहदका कारण अनिवार्य अवकाश भएसँगै राउतलाई मंगलबार मल्लले बिदाइ गरेकी थिइन् ।

भावी प्रधान न्यायाधीशका लागि न्याय परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाँल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।प्रधानन्यायाधीशले अवकाश पाउनुभन्दा एक महिना अगाडि संवैधानिक परिषद्को बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले नयाँ प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।

खबरपाटी
खबरपाटी