काठमाडौं - सरकारले ६३ जना उपसचिवलाई सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार विभिन्न स्थानीय तह र एक जिल्ला समन्वय समितिमा कर्मचारी व्यवस्थापनको निर्णय गरेको हो।
मन्त्रालयका अनुसार सरुवा गरिएकामध्ये केही उपसचिवलाई नियमित स्थानान्तरण र अधिकांशलाई स्थानीय तहमा कामकाजका लागि खटाइएको हो।
विशेषगरी लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका स्थानीय तहमा कर्मचारी पठाइएको छ। त्यसैगरी, निमित्तको भरमा सञ्चालन भइरहेका पालिकाहरूमा पनि दरबन्दीअनुसार उपसचिव खटाइएको हो।
यस कदमले प्रशासनिक कामकाजलाई व्यवस्थित बनाउनुका साथै स्थानीय तहमा थप प्रभावकारी, छरितो र सहज सेवा प्रवाह हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आवश्यक जनशक्ति अभावका कारण कतिपय स्थानमा सेवा प्रवाह प्रभावित हुँदै आएको अवस्थामा कर्मचारी व्यवस्थापनले त्यस्ता समस्या समाधानमा सहयोग पुग्ने विश्वास लिइएको छ।