काठमाडौँ । नेपाल–चीन सीमास्थित तातोपानी नाकामा चार दिनदेखि मालवाहक सवारी आवतजावत ठप्प भएपछि यसबारे चासो बढेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएपछि विषय थप चर्चामा आएको हो।
तर तातोपानी भन्सार कार्यालयले चिनियाँ नाका बन्द नभएको स्पष्ट पारेको छ। भन्सारका सूचना अधिकारी तुलबहादुर पाण्डेका अनुसार सडकको भौगोलिक समस्या, पहिरो र मर्मत कार्यका कारण यातायात अवरुद्ध भएको हो।
उनका अनुसार पछिल्लो तीन–चार दिनदेखि आएको अवरोधका कारण मालवाहक कन्टेनरहरू चिनियाँ भूभागमै रोकिएका छन्। ‘माथिबाट पहिरो खसेको र तल सडक खन्ने क्रममा जमिन धसिएकाले बाटो बिग्रिएको हो,’ उनले भने, ‘हालको वर्षाले समस्या झन् बढाएको छ। यो नाकाबन्दी होइन, सडक अवरुद्ध मात्रै हो।’
पाण्डेले सामाजिक सञ्जालमा फैलिएका भ्रामक हल्लामा नलाग्न आग्रह गर्दै सडक मर्मत कार्य जारी रहेको र आजै साँझसम्म बाटो खुल्ने सम्भावना रहेको जानकारी दिएका छन्।