पानी परेपछि बिपी राजमार्गअवरुद्ध

पानी परेपछि बिपी राजमार्गअवरुद्ध

काठमाण्डौ – पानी परेपछि बिपी राजमार्गअवरुद्ध भएको छ । हिजो बेलुका ६ बजेदेखि राजमार्गको भकुण्डे-नेपालथोक सडकखण्डअन्तर्गत रोशी गाउँपालिकाका विभिन्न ठाउँमा लेदोसहितको बाढीका कारण गाडी चल्न सकेका छैनन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार बिरुवाडाँडा, कालढुङ्गा, चौकीडाँडा र मङ्गलटारमा कतै लेदोसहितको पहिरो तथा केही ठाउँमा बाढीले राजमार्गअवरुद्ध भएको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा आज बिहानदेखि पहिरो पन्छ्याउने काम थालिने बताउनुभयो । 

गएको वर्षको बाढीपहिरोका कारण त्यस क्षेत्रको सडक क्षतिग्रस्त भएपछि खोलाबाटै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको थियो । सडक अवरुद्ध भएपछि ट्राफिक प्रहरीले हिजो बेलुकादेखि गाडीलाई ‘होल्ड’ गरेको छ । धुलिखेलको काभ्रेभन्ज्याङ र भकुण्डे तथा पूर्वतर्फबाट राजधानी काठमाण्डौ प्रवेश गर्ने नेपालथोक र मङ्गलटारमा गाडी रोकिएका छन् । 

यस्तै पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दाउन्नेमा गाडी सञ्चालनमा कठिनाइ भएको छ । हिजो बेलुका परेको पानीका कारण सडक हिलाम्मे भएपछि गाडी पार हुन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । 

अहिले पानी नपरेको तर गाडीको लामो जाम लागेको छ । तर बाटो अझै हिलो भएको र गाडी सञ्चालन सहज हुन नसकेको प्रहरीको भनाइ छ । दाउन्नेको उकालोमा गाडी चिप्लिएर गुड्न नसक्दा जाम हुने गरेको छ । घिउखोला, विश्वकर्मा मन्दिर क्षेत्र र पैसट्ठीमोड आसपासमा धेरै सास्ती छ । केही गाडीहरू मुश्किलले पास भए पनि चालकले लेन अनुशासन पालन नगर्दा जाम बढेको ट्राफिक प्रहरीको भनाइ छ । 

खबरपाटी
खबरपाटी