देशका धेरैजसो ठाउँमा मौसम बदलीसहित वर्षा

देशका धेरैजसो ठाउँमा मौसम बदलीसहित वर्षा

काठमाण्डौ – आज देशका धेरैजसो ठाउँमा मौसम बदलीसहित वर्षा भएको छ । आज दिउँसो जुम्ला, अछाम, जाजरकोट, कास्की, लमजुङ, म्याग्दी, दोलखा, गोरखा, भोजपुर, सोलखुम्बु, ताप्लेजुङलगायतका जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ ।
म्याग्दीमा पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै ६२ मिलिमिटर वर्षा मापन भएको छ । कास्कीमा ३०, लमजुङमा २६ र दोलखामा २५ मिलिमिटर वर्षा मापन भएको हो । काठमाण्डौ उपत्यकामा पनि मेघगर्जनसहित वर्षा भएको छ ।
जल तथा मौमस पूर्वानुमान महाशाखाकाअनुसार पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा बदली भएको हो । आज राति र भोलि पनि देशका विभिन्न ठाउँमा बदली, वर्षा तथा हिमपातको सम्भावना छ । तराई क्षेत्रमा पनि मौसम आंशिक बदली भएको छ ।
आज राति कोशी र मधेश प्रदेशलगायत पहाडी भागमा साधारणतया बदली तथा तराईमा आंशिक बदली हुनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही ठाउँमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका धेरै ठाउँ तथा अन्य प्रदेशका केही ठाउँमा वर्षा, हिमपात र हुरीबाट सतर्क रहन तथा पछिल्लो मौसमसम्बन्धी जानकारी लिन सबैलाई आग्रह पनि गरेको छ ।

खबरपाटी
खबरपाटी