१२ः३४ मा वैदिक परम्पराअनुसार लिनेछन् बालेनले शपथ

१२ः३४ मा वैदिक परम्पराअनुसार लिनेछन् बालेनले शपथ

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन शाहले आज प्रधानमन्त्री पदको शपथ लिँदैछन् । बालेनले मध्याह्न १२ बजेर ३४ मिनेटमा शपथ ग्रहण गर्नेछन् ।

रास्वपाले संसदीय दलको नेतामा बालेन शाहलाई बिहीबार नै सर्वसम्मत चयन गरेको थियो ।

सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत दलको नेता चयन गरिएको हो ।

संविधानको धारा ७६ मा मन्त्रिपरिषद् गठन सम्बन्धी व्यवस्था रहेको छ । धारा ७६(१) मा भनिएको छ–राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुनेछ ।”

शाहले वैदिक–सनातन परम्पराअनुसार प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने र लगत्तै प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहण गर्ने तयारी छ ।  शपथग्रहण गरेपछि २ः१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीको शपथ गराउने छन् ।

त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ ।  नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।

शपथग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ । 

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाहले झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका थिए ।
 

खबरपाटी
खबरपाटी