डेरी क्षेत्रका अगुवा दाहाल महासंघ निर्वाचनमा, निजी क्षेत्र सशक्त बनाउने प्रतिबद्धता

डेरी क्षेत्रका अगुवा दाहाल महासंघ निर्वाचनमा, निजी क्षेत्र सशक्त बनाउने प्रतिबद्धता

काठमाडौं - नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा उम्मेदवार बनेका भएका छन्।

एसोसिएसनले दाहाललाई चैत २९ र ३० गते हुने महासंघको ६०औं वार्षिक साधारणसभा तथा निर्वाचनका लागि वस्तुगततर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारका रूपमा सिफारिस गरेको हो।

एसोसिएसनका उपाध्यक्ष मनोज यादवका अनुसार डेरी क्षेत्रको नेतृत्व गर्दै आएका दाहाललाई संस्थागत निर्णयमार्फत उम्मेदवार बनाइएको हो। दाहाल यसअघि एसोसिएसनमा तीन पटक महासचिवको जिम्मेवारी सम्हालिसकेका छन् भने हाल दोस्रो कार्यकालका लागि अध्यक्ष छन्।

दाहाल नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रका बोर्ड सदस्यसमेत रहँदै आएका छन्। उनले डेरी क्षेत्रको आधुनिकीकरण, किसानको हित संरक्षण र उत्पादनको ब्रान्डिङमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्।

विशेषगरी ‘मोही’ जस्तो परम्परागत नेपाली उत्पादनलाई ब्रान्डिङमार्फत बजारमा स्थापित गर्न दाहालको पहल महत्वपूर्ण मानिएको छ। उनले महासंघमार्फत उद्योगी, किसान, कृषि क्षेत्र र समग्र निजी क्षेत्रको समन्वित विकासका लागि आफूले उम्मेदवारी दिएको बताएका छन्।

डेरी क्षेत्रसँगै शिक्षा र सामाजिक क्षेत्रमा समेत सक्रिय दाहालले आफ्नो अनुभवलाई नीतिगत सुधार, बजार विस्तार र उद्यमशीलता प्रवर्द्धनमा उपयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

उनको उम्मेदवारीले कृषि र डेरी क्षेत्रका मुद्दाहरू महासंघमा थप सशक्त रूपमा उठ्ने अपेक्षा गरिएको छ।

खबरपाटी
खबरपाटी