काठमाडौं - चन्द्रागिरि नगरपालिका वडा नं. २, नागढुंगा हाईट कोईरालाथोमा अवस्थित ऐतिहासिक माता चण्डीका देवी मन्दिर परिसरमा एकदिने श्रृङ्गारी महा आरती तथा जागाराम कार्यक्रम आयोजना गरिने भएको छ। आयोजकका अनुसार उक्त धार्मिक कार्यक्रम यही २०८२ साल चैत्र ११ गते बुधबार बेलुकी ६:०० बजे सञ्चालन हुनेछ।
श्रीमद्भागवत ज्ञान महायज्ञ २०८०/०८१ मा आरती गराउनुभएका गुरुदेवहरूको विशेष उपस्थितिमा चैत्र शुक्लपक्ष सप्तमीका अवसरमा श्रृङ्गारी महा आरती सम्पन्न गरिने कार्यक्रम तय गरिएको छ। धार्मिक आस्था र परम्परालाई निरन्तरता दिँदै आयोजना गर्न लागिएको यस कार्यक्रममा सोही दिन मन्दिर परिसरमा जागाराम समेत बसिनेछ।
आयोजक ऐतिहासिक चण्डीका देवी श्रीमद् देवी भागवत विराट ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव २०८०/०८१ मूल समारोह समितिले सम्पूर्ण भक्तजनहरूलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन हार्दिक अनुरोध गरेको छ।
यस प्रकारका धार्मिक कार्यक्रमहरूले समुदायमा आध्यात्मिक चेतना अभिवृद्धि गर्नुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।