काठमाडौं - अर्थशास्त्री केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ।
उपचारका क्रममा आज बिहान अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
गत मंगलबार बिहान पूजाका लागि फूल टिपेर फर्कने क्रममा स्वास्थ्यमा असहजता महसुस गरेपछि आचार्य घरमै बेहोस भएका थिए। अन्नपूर्ण न्यूरो अस्पतालमा उनको मस्तिष्कको शल्यक्रिया समेत गरिएको थियो।
आचार्यका एक छोरा र एक छोरी छन्। हाल उनको पार्थिव शरीरलाई चाबहिलस्थित ओम नर्सिङ होममा राखिएको छ।
विदेशमा रहेकी छोरी भोलि बिहान ११ बजे मात्र आइपुग्ने भएकाले आचार्यको अन्तिम संस्कार मंगलबार दिउँसो १२ देखि १ बजेको बीचमा पशुपति आर्यघाटमा गरिने कार्यक्रम रहेको छ।
नेपाल राष्ट्र बैंकमा तीन दशकभन्दा लामो समय सेवा गरेका आचार्य दुई पटक अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार समेत भएका थिए। आर्थिक नीति अनुसन्धान र विश्लेषणमा दख्खल राख्ने आचार्य मौद्रिक तथा आर्थिक नीति र वित्तीय क्षेत्रका विज्ञका रूपमा चिनिन्थे।