काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरण सर्वोच्च अदालतमा हेर्दाहेर्दै अवस्थामा रहेको छ ।
न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सोमबार (चैत ९)मा भएको सुनुवाइपछि भोली मंगलबारका लागि ‘हेर्दाहेर्दै’ अवस्थामा रहेको हो। सोमबार भएको सुनुवाईमा रिट निवेदकका कानुनव्यवसायीले सुरुवाती बहस गरेका छन् । रिट निवेदकको बहस नै बाँकी छ । निवेदक तर्फको बहस सकिएपछि मात्र रवी पक्षका कानुनव्यवसायीले प्रतिरक्षामा बहस गर्नेछन् ।
यसअघि गत चैत ५ गते भएको सुनुवाइपछि न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासले आफू बाहेकको इजलासमा सोमबारका लागि सुनुवाइको पेशी तोक्न आदेश दिएको थियो ।
सर्वोच्चको मागबमोजिम महान्यायाधिवक्ता कार्यालयबाट पेस भएको अघिल्लो निर्णय संशोधनसम्बन्धी फाइल पेस भएको छ ।
महान्यायाधिवक्ता सबिता भण्डारी बरालले लामिछानेको हकमा मात्रै आरोप पत्र संशोधन हुने निर्णय गरेपछि विवादको रूप लिएको थियो ।
महान्यायाधिवक्ता भण्डारीले गत २ माघमा लामिछानेसहित अरू सबै आरोपितहरूको हकमा आरोप पत्र संशोधन हुने निर्णय गरेकी थिइन् । लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने निर्णयपछि कानुनी विवाद लिएको थियो ।
महान्यायाधिवक्ता भण्डारीको निर्णय विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले रिट दायर गरेका थिए ।