मंगलबार बस्दै काग्रेस बैठक : १५ औँ महाधिवेशनबारे छलफल गर्ने तयारी

मंगलबार बस्दै काग्रेस बैठक : १५ औँ महाधिवेशनबारे छलफल गर्ने तयारी

काठमाडौं - नेपाली कांग्रेस महाधिवेशनतिर केन्द्रित हुने भएको छ। पार्टीभित्र आन्तरिक विवाद चर्किएपछि भोलि बस्न लागेको केन्द्रीय समिति बैठकमा १५ औँ महाधिवेशनबारे छलफल गर्ने तयारी छ।

विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्दै कांग्रेस महाधिवेशनतिर अघि बढेको हो। प्रतिनिधि सभाको निर्वाचनमा धक्का खाएपछि सभापति थापाले राजीनामा दिएका थिए। तर, हिजो बसेको केन्द्रीय समिति बैठकले राजीनामा अस्वीकृत गरेसँगै भोलिको बैठक उनैको सभापतित्वमा बस्दैछ।

चुनाव पार्टीको लज्जास्पद हारेको दोष सभापति थापालाई देखाउँदै पूर्वसभापति शेरबहादुर देउवा समूहले पनि समानान्तर गतिविधि बढाइरहेका छन्। देउवा नेतृत्वको कार्यसमितिको बैठक राख्ने उनीहरूको गृहकार्य छ। पार्टीलाई विभाजनबाट रोक्नको लागि तत्कालै महाधिवेशनको विकल्प नभएको निष्कर्ष निकालेको एक नेताले बताए।

ती नेताले भने, ‘पार्टी अहिले अफ्यारो अवस्थामा छ। त्यसैले सबैलाई एकजुट बनाएर लैजानुपर्छ भन्ने प्रयास भइरहेको छ। भोलिको बैठकमा सभापतिले १५ औँ महाधिवेशनको कार्यतालिका सम्भवतः पेस गर्नुहुन्छ। महाधिवेशनपछि पार्टी एकढिक्का भएर अघि बढ्छ भन्ने हाम्रो विश्वास छ।’

चुनावी समीक्षासँगै पार्टी महाधिवेशनमा केन्द्रित हुने ती नेताले बताए। केन्द्रीय सदस्य मधु आचार्यले पनि पार्टीलाई सम्हालेर १५ औँ महाधिवेशनतिर पार्टीलाई लैजाने जिम्मेवारी सभापति थापाकै काँधमा भएकाले राजीनामा अस्वीकार गर्ने निर्णय लिएको बताए।

खबरपाटी
खबरपाटी