काठमाडौँ - काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पुँजीगत खर्चलाई गुणात्मक र परिमाणात्मक रूपमा बढाउन निर्देशन दिएकी छिन्।
आज महानगरपालिकाको स्वीकृत कार्यक्रम तथा बजेट कार्यान्वयन अवस्थाको समीक्षा गर्न सुरु भएको पाक्षिक बैठकमा उनले यस्तो बताएकी हुन्।
प्रमुख डंगोलले हरेक कार्यक्रम कार्यान्वयन गर्दा आममानिससँग कति जोडिन्छरु र कसरी जोडिन्छ भन्ने विषयमा ध्यान दिन निर्देशन दिइन्।
उनले भनिन्,‘स्वीकृत कार्यक्रम कार्यान्वयन गर्नु जति महत्वपूर्ण छ, कार्यान्वयनमा गएका कार्यक्रमले आममानिसलाई कति लाभ दियो भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ, यसकारण दुवै पक्षलाई समान ध्यान दिनुहोला, कार्यान्वयन भएका कार्यक्रमको अध्ययन विश्लेषण गरेर नतिजा मापन गर्नुहोला, लिखित आन्तरिक समन्वय प्रणाली कार्यान्वयनमा ल्याउनुहोला, यसले जवाफदेहिता बढ्नेछ।’