लथालिंग भएको राजनीति सुधार्ने महत्त्वपूर्ण अभिभारा पूरा गर्न आएका हौ : स्वर्णिम वाग्ले

लथालिंग भएको राजनीति सुधार्ने महत्त्वपूर्ण अभिभारा पूरा गर्न आएका हौ : स्वर्णिम वाग्ले

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले आफूहरू लथालिंग भएको राजनीति सुधार्ने महत्त्वपूर्ण अभिभारा पूरा गर्न आएको भन्दै गम्भीर बन्न पार्टीका सांसदलाई आग्रह गरेका छन्। उनले थिति बसाल्ने विषयमा गम्भीर भएर लाग्न पनि आफ्ना सांसदलाई अनुरोध गरे।

ललितपुरमा मंगलबार शुरु भएको सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रममा वाग्लेले आफूहरू व्यक्तिगत समस्या समाधान गर्न नआएको बताउँदै प्रणाली नै बदल्ने विषयमा गम्भीर रहन आग्रह गरे। ‘नेपाली जनताले गर्नसक्ने गरी म्याण्डेट दिएर पठाउनुभएको छ,’ उनले भने, ‘खाली ठूलो पार्टी मात्रै भएर बहुमत नआएको भए यति ठूलो भारी हुँदैन थियो। यसमा सजग हुनुहोला ।’

जनतामा भएको विकास निर्माणको हुटहुटीलाई समातेर अघि बढ्नुपर्ने तथ्यलाई नबिर्सन आग्रह पनि गरे। उनले सांसदहरूलाई अध्ययन बढाउन पनि आग्रह गरे। ‘तपाईँहरू फेरि अध्ययनको चरणमा प्रवेश गर्नुपर्नेछ। अब फेरि ब्याक टू कलेज भनेजस्तै हो। यसमा केही आधारभूत डकुमेन्टको फ्रेमवर्क हुनेछ,’ वाग्लेले भने, ‘पार्टीकै धारणाहरू बारे पनि अध्ययन गर्नुपर्नेछ। वाचापत्र दोहोर्‍याएर तेहेर्‍याएर पढ्नुहोला।’

उनले अब बन्ने नयाँ सरकारका काममा ‘वाचडग’को भूमिका निर्वाह गर्न पनि नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिए।

खबरपाटी
खबरपाटी