नौ दिनअघि बर्दिया राष्ट्रिय निकुञ्जमा शिकार खेल्न गएका सुर्खेतका ६ जना सम्पर्कविहीन

नौ दिनअघि बर्दिया राष्ट्रिय निकुञ्जमा शिकार खेल्न गएका सुर्खेतका ६ जना सम्पर्कविहीन

काठमाडौँ – नौ दिनअघि बर्दिया राष्ट्रिय निकुञ्जमा शिकार खेल्न गएका सुर्खेतका ६ जना सम्पर्कविहीन भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गत फागुन २३ गते बराहताल गाउँपालिका- १, का पाँच र लेकबेँसी नगरपालिका- ८, का एक गरी ६ जना शिकार खेल्न भनी करिब २० किलोमिटर दक्षिणमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा गएका थिए ।

बराहताल गाउँपालिका- १, का २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकबेँसी नगरपालिका– ८, का ४४ वर्षीय दुर्गाबहादुर सिजाली सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले  थाहाखबरलाई जानकारी दिए।

उनका अनुसार उनीहरूको खोजीका लागि बाबियाचौर र रानीघाटलगायतबाट प्रहरीको टोली खटिएको छ। तीमध्ये एकजनाको मृत्यु भएको आशंका प्रहरीले गरेको छ। शिकार खेल्न गएकामध्येका एकका भिनाजु बताउने एकजनाले सोमबार बिहान फोन गरी आफ्ना सालाको मृत्यु भएको खबर प्रहरीलाई दिएका थिए।

‘एक शव जंगलमा भेटिएको छ। तीमध्येका हो कि होइन यकिन भइसकेको छैन’, उनले थाहाखबरलाई भने, ‘पाँचजना अझै सम्पर्कविहीन छन्।’
 

खबरपाटी
खबरपाटी