काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ।
कूल १ करोड १० लाखको हाराहरीमा मतदान भएकोमा अहिलेसम्म झण्डै ९५ लाखभन्दा बढी मत गणना भइसकेको छ। अब करिब १५ लाख मत गन्न बाँकी छ। समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्नै लाग्दा सिट बाँडफाडको चासो पनि उत्तिकै छ।
हाम्रो प्रतिनिधिसभा २ सय ७५ सदस्यीय रहने प्रावधान छ। जसमध्ये १ सय ६५ जना प्रत्यक्ष निर्वाचित भएर आउनेछन् भने १ सय १० जना समानुपातिक तर्फबाट । जसमध्ये प्रत्यक्षतर्फको १ सय ६३ जनाको टुंगो लागिसकेको छ भने यो समाचार तयार पार्दासम्म संखुवासभामा मतगणना अन्तिम चरणमा छ।
धनुषा १ मा मतगणना भइसके पनि उम्मेदवारी खारेज भएका रास्वपा उम्मेदवारले सर्वोच्चमा रिट दायर गरेपछि तत्काल परिणाम आउँदैन। यसमा सर्वोच्चले सोमबार कारण देखाउ आदेश जारी गर्दै शुक्रबार दुबै पक्षलाई छलफलमा बोलाएको छ।
यसरी चयन हुन्छन् समानुपातिक सांसद
समानुपातिकबाट दलहरुले देशभरबाट प्राप्त गरेको मतको आधारमा सांसद चयन हुन्छन्। निर्वाचन आयोगमा मतदान हुनुभन्दा अगाडि नै दलहरुले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची बुझाइसकेका छन्। समानुपातिकको मतगणना सकिएपछि उनीहरुले प्राप्त गरेको मतका आधारमा निर्वाचन आयोगले सिट संख्या टुंगो लगाउँछ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मंगलबारसम्म समानुपातिक तर्फको सबै मतगणना सक्ने तयारी छ।
गणना सकिएपछि थ्रेसहोल्ड पार गरेका दलहरुले प्राप्त गरेको सिटका आधारमा आयोगले समानुपातिक क्लस्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्विचत हुने सांसदको नाम सिफारिस गर्न राजनित दलहरुलाई पत्राचार गर्नेछ।
दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरे पछि सो नामावली समावेशी कलष्टर बमोजिम मिले नमिलेको रूजु गरी समानुपातिक तर्फका निर्वाचित सांसदको नाम यकिन गरी प्रमाणपत्र उपलब्ध गराउनेछ ।