काठमाडौँ – निर्वाचन आयोगले आफ्नो मताधिकार प्रयोग गर्न बाँकी रहेका सम्पूर्ण मतदाताहरूलाई निर्धारित समय (अपराह्न ५ बजे) नपर्खीकन मतदान केन्द्रमा गएर मतदान गर्न विशेष आग्रह गरेको छ।
देशभर उत्साहजनक रूपमा मतदान भइरहेको सन्दर्भमा आयोगले कार्यव्यस्तता वा अन्य कारणले घरमै बसिरहेका नागरिकलाई यस्तो अपिल गरेको हो। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाताहरू निर्वाचनमा भाग नलिई घरमै बसेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताए।
आयोगले मतदान केन्द्रमा पुग्दै गरेकाहरूलाई आफ्नो मत बदर नहुने गरी शुद्ध र विधिपूर्वक तरिकाले मतदान गर्न सुझाव दिएको छ। मतदान गर्नु नागरिकको अधिकार मात्र नभई राष्ट्रप्रतिको महत्वपूर्ण कर्तव्य पनि भएको आयोगले स्मरण गराएको छ।
‘सबै मतदाताहरू कार्यव्यस्तताले गर्दा कतिपय मतदान केन्द्रमा जाँदै हुनुहुन्छ होला, कतिपय मतदान गरेर फर्किसक्नुभयो होला। जो कार्यव्यस्तताले गर्दा पुग्न बाँकी हुनुहुन्छ, उहाँहरूलाई ढिलो नगरिकन मतदान केन्द्रमा गइदिनुस् भन्न चाहन्छौँ’, उनले भने।
अपराह्न ५ बजेसम्मको समय भए पनि अन्तिम समयको प्रतिक्षा गर्दा भीडभाड हुने र प्राविधिक समस्या आउनसक्ने भएकाले समय छँदै आफ्नो काम सम्पन्न गरिदिन आयोगले अनुरोध गरेको छ।