वीरगन्ज । प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै नेपाली सेनाले वीरगन्जमा सञ्चालन गरेको विशेष सर्च अभियानमा बमसहित तीन जना पक्राउ परेका छन्।
गएराति करिब २ बजे श्रीजंग गण वीरगन्जको नेतृत्वमा वीरगन्ज महानगरपालिका–१६ इनर्वा क्षेत्रमा गरिएको विशेष सर्च अपरेशनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा कृष्ण यादव, रोहित पटेल र अवजित यादव रहेका छन्।
उनीहरूको साथबाट नौ थान सुतली बम र पाँचवटा सेतो तार बरामद गरिएको श्रीजंग गणका उपसेनानी विकास मरहठ्ठाले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानका अनुसार बरामद सामग्री धार्मिक सद्भाव खलबल्याउने तथा निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले प्रयोग हुन सक्ने आशंका गरिएको सुरक्षा निकायले जनाएको छ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन सेना पूर्ण रूपमा सतर्क रहेको उपसेनानी मरहठ्ठाले बताए। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।