रौतहट। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले रौतहट जिल्लामा नेपाली सेनाले सुरक्षा सतर्कता उच्च पारेको छ। फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई लक्षित गर्दै सेनाले पैदल, मोटरसाइकल, सवारी साधन तथा बख्तरबन्द गाडीसहित व्यापक गस्ती तथा निगरानी सुरु गरेको जनाएको छ।
रौतहटमा तैनाथ नेपाली सेनाको श्री नारायणदल गणले जिल्लाभर सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाएको छ। अत्याधुनिक सैनिक सवारी साधनसहित विभिन्न मतदान स्थलहरूमा एकैसाथ गस्ती परिचालन गरिएको छ। सम्भावित जोखिमलाई नियन्त्रणमा लिन सक्रियता बढाइएको सेनाले जनाएको छ।
मतदान केन्द्र वरपर विशेष निगरानी राखिएको र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन कडा सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिइएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा जिल्लाभर सुरक्षा सतर्कता थप कडा पारिएको छ
श्री नारायणदल गणको टोली रौतहट जिल्लाका सबै १७ वटै स्थानीय तहमा तैनाथ रहेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गर्दै संयुक्त गस्ती तथा सुरक्षा व्यवस्थापन भइरहेको सेनाले जनाएको छ।