एमाले लोकप्रिय मतका साथ पहिलो दल बन्छ : शाही

एमाले लोकप्रिय मतका साथ पहिलो दल बन्छ : शाही

नेकपा (एमाले)का केन्द्रीय प्रचार विभाग संयोजक मिनबहादुर शाहीले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी लोकप्रिय मतसहित पहिलो बन्ने दाबी गरेका छन् ।

शनिबार प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले देशका १६५ मध्ये १६३ निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवार उठाएको जानकारी दिए ।

आगामी निर्वाचनबाट एमालेले बहुमत प्राप्त गरी सरकार गठन गर्ने र देशभर लोकप्रिय मतका साथ पहिलो पार्टी बन्ने शाहीको दाबी छ । शाहीले पार्टी अध्यक्ष केपी शर्मा ओली झापा– ५ बाट सर्वाधिक लोकप्रिय मतसहित विजयी हुने दाबीसमेत गरे । ‘विगतका योगदान र जनसमर्थनका आधारमा एमालेका उम्मेदवारहरू विजयी हुन्छन्,’ उनले भने ।

देशभरका एकबाहेक अन्य क्षेत्रमा एमालेले कुनै पनि दल वा उम्मेदवारसँग गठबन्धन नगरेको शाहीले स्पष्ट पारे । कर्णालीमा रुकुम पश्चिमबाहेक अन्य जिल्लामा एमालेले गठबन्धन गरेको भन्ने हल्ला निराधार रहेको भन्दै त्यसप्रति सचेत रहन उनले आग्रह गरे । एमालेले सामाजिक न्यायसहितको लोकतन्त्र सुदृढ बनाउन काम गरिरहेको दाबी गर्दै शाहीले मतदातालाई आफ्नो विवेक प्रयोग गर्न अनुरोध गरे ।

निर्वाचनको मुखमा मतदाताको मनोविज्ञान प्रभावित गर्ने गतिविधि नगर्न सबैपक्षलाई आग्रह गर्दै शाहीले स्वच्छ, निष्पक्ष र धाँधलीरहित चुनावका लागि सरकार गम्भीर हुनुपर्ने बताए । मतपेटिकाको सुरक्षाबारे उनले विगतका अभ्यासअनुसार सुरक्षा निकायले नै जिम्मेवारी वहन गर्नुपर्ने धारणा राखे ।

खबरपाटी
खबरपाटी