काठमाडौं – मगर समुदायले आज विभिन्न कार्यक्रम गरी मगर दिवस मनाउँदैछन्।
२०३९ साल फागुन १५ गते नेपाल लांघाली परिवार संघको प्रर्थम अधिवेसन सम्पन भएको सम्झनामा दिवस मनाउन थालिएको हो। नेपाल मगर संघलगायतले विभन्न कार्यक्रम आयोजना गरेका छन्।
यसै अवसरमा आज मगर बाहुल्यता रहेको गुल्मीका दस पालिकाले सार्वजनिक बिदा दिएका छन्। दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तहमध्ये यहाँका दस पालिकाले सार्वजनिक सूचना जारी गरी ४४ औं राष्ट्रिय मगर एकता दिवसको अवसर पारेर आज सार्वजनिक बिदा दिएको जनाएका छन्।
यस्तै मगर जातिको बाहुल्यता रहेको स्याङ्जाका आठ पालिकाले पनि आज सार्वजनिक विदा दिएका छन्। सार्वजनिक बिदा दिएको स्थानीय तहमा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघसंस्थाहरू बन्द हुने छन्।
दिवसको अवसरमा शुकामना जारी गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मगर समुदायको गौरवशाली इतिहास, समृद्ध कला संस्कृति, मौलिक भाषा तथा जीवन्त रीतिरिवाजले नेपाली समाजलाई विशिष्ट पहिचान दिएको उल्लेख गरे।
प्रदेश सरकारले भाषा, कला र संस्कृतिको संरक्षणका लागि नीति तथा कार्यक्रममार्फत सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्ता पहललाई अझ प्रभावकारी बनाइने उनले स्पष्ट पारे।