जित्नैपर्ने दबाबसहित वेस्ट इन्डिजविरुद्ध उत्रिँदै नेपाल

जित्नैपर्ने दबाबसहित वेस्ट इन्डिजविरुद्ध उत्रिँदै नेपाल

काठमाडौं । आईसीसी टी२० विश्वकपमा आज नेपाल जित्नैपर्ने दबाबसहित समूह चरणको तेस्रो खेलमा वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धामा उत्रिँदै छ । 

समूह ‘सी’ मा रहेको नेपालले यसअघिका दुई खेलमा हार बेहोरेको थियो । नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनले र दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो । सुपर ८ पुग्ने गणितीय सम्भावना कायम राख्न नेपाल आज जितको दबाबमा छ।

वेस्ट इन्डिजसँगको खेलअघि नेपाली टिमका मुख्य प्रशिक्षक स्टुअर्ट लले पनि आफ्नो टिमलाई बाहिरी कुराबाट ध्यान हटाई खेलमा केन्द्रित हुन र जितका निम्ति खेल्न चेतावनी दिएका थिए । 

समूहको तेस्रो खेलअघि प्रशिक्षक लले पहिलो खेलपछि खेलाडीले सामाजिक सञ्जालमा ध्यान दिँदा दोस्रो खेलमा अपेक्षाकृत प्रदर्शन हुन नसकेको निराशा पोखेका थिए । इटालीविरुद्ध अप्रत्यासित नतिजा आएपछि नेपाली खेलाडीको सर्वत्र आलोचना भइरहेको छ । 

‘‘इंग्ल्यान्डसँगको खेलपछि नेपाली खेलाडीले सामाजिक सञ्जालको प्रशंसा हेरे । उनीहरुले हेर्नु पर्ने खेलको प्रदर्शन हो । हामीले सामाजिक सञ्जालमा मान्छेहरुले के भनिरहेका छन्, भन्ने कुरा सोच्छौँ भने टिमलाई के चाहिएको छ । टिमका सदस्यले के भनिरहेका छन्, भन्नेबाट ध्यान हट्छ। यो निकै गाह्रो विषय हो,’’ लले खेलाडीमाथि सामाजिक सञ्जालले पारेको प्रभावबारे बोले । 

यता, वेस्ट इन्डिज भने आजको खेलमा जितसहित सुपर ८ मा आफ्नो स्थान सुनिश्चित गर्ने लक्ष्यसहित प्रतिस्पर्धामा उत्रिने छ । खेलअघि वेस्ट इन्डिजका कप्तान अकिल हुसैनले नेपाली टिमसँग गुमाउन केही नभएकाले आफूहरुले कमजोर नआकेको र उत्कृष्ट प्रदर्शनको लक्ष्यसहित मैदान उत्रिने बताए । 

उनले पछिल्लो शृंखलामा नेपालसँग पराजित भएकाले सजक हुने बताए । ‘‘हामीले पछिल्लो पटक नेपालसँग खेलेका छौं । त्यसैले सहज पनि छौ,’’ उनले भने, ‘‘हामी विश्वकपमा सबै खेल जित्न चाहन्छौँ । त्यसैले नेपालविरुद्ध पनि जित्नकै लागि खेल्छौँ ।’’

कप्तान रोहित बिरामी

इटालीविरुद्धको खेल पछि नेपाली राट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले बिरामी भएका छन् । शनिबार बिहान मुम्बईस्थित वान्खेडे रंगशालामा अभ्यास सत्रमा रोहित उपस्थित भएनन् । 

अभ्यास सत्रपछि  पत्रकार सम्मेलन कक्षमा बोल्दै प्रशिक्षक स्टुआर्ट लले रोहितलाई ज्वरो आएको जानकारी गराए । उनले भने, ‘‘शुक्रबारबाट रोहितलाई ज्वरो आएकाले अभ्यासमा उपलब्ध भएनन् ।’’

प्रशिक्षक लले आइतबार बिहान हुने वेष्ट इन्डिजविरुद्धको खेलमा रोहित उपलब्ध हुने पनि बताए । 

इटालीसँगको खेलपछि एक दिन विश्राम बसेर नेपाली टिमले शनिबार अभ्यास गरेको हो । प्रशिक्षक लले वेष्ट इन्डिजविरुद्ध जितको विकल्प नभएको बताउँदै जित्न खेल्ने बताएका छन् । 

वेस्ट इन्डिजले यसअघि पहिलो खेलमा स्कटल्यान्डलाई र दोस्रो खेलमा इंग्ल्यान्डलाई हराएको थियो । भारतको मुम्बईस्थित वान्खेडे रंगशालामा हुने यो खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ । 

 

खबरपाटी
खबरपाटी