जाँचबुझ आयोगमा गोली प्रहारको फुटेज र केमिकलको विश्लेषण हुँदै

जाँचबुझ आयोगमा गोली प्रहारको फुटेज र केमिकलको विश्लेषण हुँदै

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले संघीय संसद भवनअघि भएको गोली प्रहारको फुटेज र आगजनीमा प्रयोग भएको केमिकलको विश्लेषण गर्ने काम गरिरहेको छ ।

गोली प्रहारको फुटेज र आगजनीमा प्रयोग भएको केमिकलको विश्लेषण सकाएर २८ माघसम्म काम सम्पन्न गर्ने तयारी भइरहेको आयोगले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएको घटनाको छानबिनका लागि जाँचबुझ आयोग गठन भएको थियो । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले प्रतिवेदन लेखनको कामसँगै संघीय संसद भवनअघि भएको गोली प्रहारका घटना, तोडफोड, आगजनी र हिंसाको सीसीटीभी फुटेज तथा 'टेक्निकल'  विषय केलाउँदै छ ।

आयोग स्रोतका अनुसार प्रतिवेदन लेख्ने, सीसीटीभी फुटेज तथा टेक्निकल विषयमा अध्ययन गर्ने र थप बुझ्ने काम पनि सँगसँगै चलिरहेको छ । आयोगले जाँचबुझका क्रममा आगजनीमा रसायनको प्रयोग भए नभएको विषयमा पनि घटनास्थलको नमूना समेत संकलन गरी परीक्षण गरेको छ ।

"सबै काम मंगलबार (माघ २८) सम्म सम्पन्न गर्ने गरी अन्तिम चरणमा प्रवेश गरेको छ," आयोग स्रोतले भन्यो, "आज (सोमबार) सम्मको अवस्था म्याद नथप्ने भन्ने नै हो । आकस्मिक रूपमा केही त्यस्तो आइनपरे २८ गतेसम्म सकाउने नै भन्ने छ ।"

जाँचबुझ आयोगले गत ०८२ असोज ८ गतेदेखि काम थालेको थियो । तीन महिने म्याद पुस ९ गते नै सकिएको हो । यस अवधिमा काम नसकिएपछि बीचमा मन्त्रिपरिषदको निर्णय अनुरुप पुनः एक महिना म्याद थप गर्ने निर्णय गरिएको थियो । पहिलोपल्ट थपिएको उक्त म्याद माघ ८ मा सकिएपछि पुनः दुई साताका लागि भनेर बढाइएको थियो ।

गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको छानबिन गर्ने कार्यदेश कार्की आयोगलाई तोकिएको छ ।

जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो भने दुई हजार ४२९ जना घाइते भएका थिए । तोडफोड, आगजनीसहितका विध्वंसात्मक कार्यबाट सार्वजनिक तथा निजी क्षेत्र गरी ८४ अर्ब रुपैयाँ भन्दा बढीको क्षति भएको सरकारी अनुमान छ । यसबीचमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न एक सयभन्दा बढी व्यक्तिसँग बयान तथा सोधपुछ गरिएको छ । ‘जेलब्रेक’ का घटनामाथि पनि जाँचबुझ गरिएको छ ।

खबरपाटी
खबरपाटी