काठमाडौं । सगरमाथा क्षेत्रसँग जोडिएको हेलिकोप्टर उद्धार प्रणालीमा ठूलो बीमा ठगी काण्ड खुलेपछि नेपालको पर्यटन क्षेत्र पुनः अन्तर्राष्ट्रिय विवादमा परेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको रिपोर्ट अनुसार, नेपालका ट्राभल तथा उद्धार कम्पनीसँग सम्बन्धित छ जना उच्च अधिकारीलाई नक्कली उद्धार देखाएर करोडौं डलर ठगी गरेको आरोपमा पक्राउ गरिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले तीन वटा कम्पनीसँग सम्बन्धित व्यक्तिहरूलाई सन् २०२२ देखि २०२५ सम्म झुट्टा हेलिकोप्टर उद्धार र नक्कली मेडिकल कागजात बनाएर करिब २० मिलियन अमेरिकी डलर बराबर रकम अन्तर्राष्ट्रिय बीमा कम्पनीबाट असुलेको आरोपमा पक्राउ गरेको हो।
अनुसन्धान अनुसार, उद्धार कम्पनीहरूले हेलिकोप्टर उडान सूची, मेडिकल बिल र अस्पताल रिपोर्टहरू नक्कली बनाइ बीमा कम्पनीमा दाबी पेश गर्ने गरेका थिए। केही अवस्थामा सानो समस्या भएका पर्यटकलाई समेत आपत्कालीन उद्धार आवश्यक भएको देखाएर हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको पाइएको छ।
प्रहरीको विवरणअनुसार: “एक कम्पनीले दाबी गरेका १,२४८ उद्धारमध्ये १७१ वटा नक्कली रहेको पाइएको छ, त्यसबाट मात्रै १० मिलियन डलरभन्दा बढी रकम असुलिएको थियो, अन्य कम्पनीहरूले पनि दर्जनौं नक्कली उद्धार देखाएर थप करोडौं डलर उठाएका थिए ।
केही घटनामा एउटै हेलिकोप्टर उडानलाई छुट्टाछुट्टै उद्धार देखाएर धेरै दाबी गरिएको समेत अनुसन्धानमा खुलेको छ।
सगरमाथा क्षेत्रजस्ता दुर्गम स्थानमा सडक र स्वास्थ्य सेवा सीमित भएकाले हेलिकोप्टर उद्धार अनिवार्यजस्तै हुने गर्छ। यही अवस्थालाई दुरुपयोग गरेर ठगीको जाल फैलाइएको अन्तर्राष्ट्रिय रिपोर्टहरूमा उल्लेख छ।
प्रत्येक वर्ष हजारौं आरोही र दशौं हजार ट्रेकर नेपाल आउने गर्छन्। यस्तो अवस्थामा बीमा ठगी प्रकरणले नेपालको पर्यटन विश्वसनीयतामाथि प्रत्यक्ष असर पार्ने विश्लेषण गरिएको छ।
विशेषज्ञहरूका अनुसार: “ विदेशी बीमा कम्पनीहरूले नेपाललाई ‘हाई रिस्क’ गन्तव्य घोषणा गर्न सक्छन्, बीमा शुल्क महँगो हुन सक्छ, विदेशी पर्यटकको आगमन घट्न सक्छ
यसले नेपालको पर्यटन अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्न सक्ने चेतावनी दिइएको छ।
केही अन्तर्राष्ट्रिय स्रोतहरूमा यो ठगी योजनामा चर्चित पर्यटन गाइड लाक्पा ग्याल्जेन शेर्पाको नाम मुख्य योजनाकारका रूपमा जोडिएको दाबी गरिएको चर्चा समेत पर्यटन वृत्तमा चलिरहेको छ। यद्यपि यसबारे आधिकारिक रूपमा अदालतमा प्रमाणित प्रक्रिया जारी रहेकाले अन्तिम निष्कर्ष न्यायिक निर्णयपछि मात्रै स्पष्ट हुने बताइएको छ।
हेलिकोप्टर उद्धार ठगीको समस्या नेपालमा नयाँ होइन। सन् २०१८ मा पनि ठूलो ठगी प्रकरण सार्वजनिक भएको थियो र त्यसले अन्तर्राष्ट्रिय बीमा कम्पनीहरूलाई नेपालमा बीमा बन्द गर्ने चेतावनीसम्म दिन बाध्य बनाएको थियो।
तर पछिल्ला घटनाले सुधार प्रयास पर्याप्त नभएको संकेत गरेको छ। प्रहरीका अनुसार, कमजोर कानुनी कारबाही र निगरानी अभावका कारण ठगीको जाल झन् फैलिएको हो।
प्रहरीले घटनालाई संगठित आर्थिक अपराधको रूपमा अनुसन्धान गरिरहेको छ। थप कम्पनी, अस्पताल र व्यक्तिहरू पनि अनुसन्धानको दायरामा आउन सक्ने संकेत गरिएको छ।
सगरमाथाको नाममा भएको यो बीमा ठगी प्रकरण केवल आपराधिक घटना मात्र होइन, नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा र पर्यटन अर्थतन्त्रसँग जोडिएको गम्भीर मुद्दा बनेको छ। अब सरकार र पर्यटन क्षेत्रले पारदर्शी उद्धार प्रणाली लागू नगरेसम्म यस्तो ठगी दोहोरिने जोखिम उच्च रहने देखिएको छ।