आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशका ११ जिल्लामा ७ हजार १४० प्रहरी परिचालन हुने भएका छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा १ हजार ३, मनाङमा १६३, लमजुङमा ६०६ र कास्कीमा ९५७ प्रहरी परिचालन हुनेछन् ।
यसैगरी, तनहुँमा ८३८, स्याङ्जामा ९४०, नवलपुरमा ८१८, मुस्ताङमा २०२, म्याग्दीमा ४११, बागलुङमा ६५८ र पर्वतमा ४३९ जना प्रहरी परिचालन हुनेछन् । प्रदेशभर १४ हजार १२ जना निर्वाचन प्रहरी खटाइने प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले जानकारी दिए ।
१८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको गण्डकीमा १८ लाख ७० हजार ६५ मतदाता छन् ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी कास्कीमा ३ लाख १८ हजार ५७२ तथा मनाङमा सबैभन्दा कम ७ हजार मतदाता छन् । स्याङ्जामा २ लाख ४८ हजार ८१६, तनहुँमा २ लाख ५४ हजार ३९७, नवलपुरमा २ लाख ६८ हजार ५२६, गोखरामा २ लाख २९ हजार ५८ र बागलुङमा १ लाख ९३ हजार १८१ मतदाता छन् ।
यसैगरी, लमजुङमा १ लाख ३७ हजार १२४, पर्वतमा १ लाख २५ हजार ४६६, म्याग्दीमा ८६ हजार ३९७ र मुस्ताङमा ११ हजार ४३८ मतदाता छन् । प्रदेशका ११ वटै जिल्लामा १ हजार २९७ मतदानस्थल र २ हजार ३९६ मतदान केन्द्र कायम गरिएको छ ।