काठमाडौँ - प्रधानमन्त्री सुशीला कार्कीले कुलमान घिसिङ , महावीर पुन, जगदीश खरेल र बब्लु गुप्तालाई मन्त्री बनाउन जेनजीको दबाब परेको खुलासा गरेकी छिन्।
राष्ट्रियसभाको सोमवारको बैठकमा प्रधानमन्त्री कार्कीले सरकार गठनका समयमा जेनजीका अगुवाहरूले केही व्यक्तिलाई मन्त्री बनाउनैपर्ने भनी दबाब दिएको खुलाइन्। उनले नियुक्ति गर्नैपर्ने अवस्था आएकाले गरिएको पनि जानकारी दिइन्।
उनले भनिन्, 'भदौ २७ गते शपथग्रहण गरेपछि मन्त्रिपरिषद् गठन भएन। हामी राजनीतिक दलको मान्छे होइनौँ। हामीले बाहिरबाट खोज्नुपर्ने अवस्था आयो अन्तरिम सरकारका लागि। हामीलाई जेनजीको ठूलो प्रेसर थियो । जेनजीका मान्छे ल्याऊ भन्ने आयो। त्यसमा महावीर पुन, कुलमान घिसिङको नाम आयो । हामीले मान्नुपर्ने अवस्था थियो। कुलमानलाई लिनैपर्छ, पुनलाई लिनैपर्छ सञ्चारमन्त्री तिनीहरूलाई पनि लिनैपर्छ भन्ने थियो।'
उनले बब्लु गुप्तालाई पनि सरकारमा ल्याउनका लागि जेनजीले दबाब दिएको प्रधानमन्त्री कार्कीले बताइन्। पुनलाई अंगालो हालेर सुधन गुरुङले किताब बेच्दाबेच्दै सडकबाट ल्याएको पनि प्रधानमन्त्री कार्कीले खुलाइन्।