साताको पहिलो दिन नेप्से २० अंकले घट्यो, कारोबारमा पनि गिरावट

साताको पहिलो दिन नेप्से २० अंकले घट्यो, कारोबारमा पनि गिरावट

साताको पहिलो कारोबार दिन आइतबार शेयरबजार परिसूचक नेप्सेमा झण्डै २० अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १९.८५ अंकले घट्दै २ हजार ६९४.२० बिन्दुमा झरेको हो । 

अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १७ अंकमाथिले घटेर बन्द भएको थियो ।

आज नेप्से सूचकसँगै कारोबार पनि घटेको छ । गत बिहीबार १४ अर्ब ५६ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुँदा आज कारोबार घट्दै ९ अर्ब १० करोड ९४ लाख रुपैयाँ बराबरको २ करोड २० लाख ६० हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको छ । 

आज ट्रेडिङ समूहको उपसूचक बाहेक अरु १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक १.७५ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक १.३६ प्रतिशतले घट्न पुगेको छ । 

अरु समूहको उपसूचक १ प्रतिशतभन्दा कमले घटेका छन् । तथापि, ट्रेडिङ समूहको उपसूचक भने आज ०.५५ प्रतिशतले बढेको छ । २०१ कम्पनीको शेयर मूल्य घटेको छ भने ५० कम्पनीको मूल्य बढेको छ । 
 

खबरपाटी
खबरपाटी