फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

 काठमाडौं । संघीय राजधानीलाई मधेशसँग जोड्ने काठमाडौं-तराई फास्ट ट्र्याक तोकिएकै समयमा सम्पन्न गर्ने गरी काम भइरहेको नेपाली सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले तोकिएको समयसीमा २०८३ चैतमै सम्पन्न गर्ने गरी काम भइरहेको बताए । ‘नेपाल सरकारबाट हामीलाई २०८३ चैत मसान्तसम्मको समयसीमा प्राप्त छ । सोही अनुसार समयमै सक्नेगरी काम भइरहेको छ,’ प्रवक्ता बस्नेतले भने ।


अहिलेसम्म फास्ट ट्र्याकको भौतिक प्रगति ४५.१६ प्रतिशत रहेको उनले जानकारी दिए । वित्तीय प्रगति भने ४५.३३ प्रतिशत रहेको छ ।

यो फास्ट ट्रयाकमा १०.९७९ किलोमिटर सुरुङ मार्ग छ । जसमध्ये लेन डाँडाको १.६२६ र धेद्रेको १.६९१ सुरुङको ब्रेक थ्रु भइसकेको छ । महादेवटार सुरुङमार्गको ७० प्रतिशत काम सम्पन्न भएको छ ।


सहायक रथी बस्नेतका अनुसार फास्ट ट्र्याक अन्तर्गत बन्नुपर्ने ८९ वटा पुलमध्ये १३ वटा निर्माण सम्पन्न भइसकेका छन् भने ८५ वटाको ठेक्का भएर काम सुरु भएको छ ।

फास्ट ट्रयाक निर्माण गर्ने क्रममा ५४ हजार रुख कटान भएका थिए । हालसम्म ७ लाख ५० हजार नयाँ बिरुपा रोपिएको र ती मध्ये १ लाख ५१ हजार हुर्काएर सामुदायिक वनलाई हस्तान्तरण गरिएको प्रवक्ता बस्नेतले जानकारी दिए ।

खोकना विवाद भने अहिलेसम्म सुल्झन सकेको छैन । सबै निकायबाट विवाद सुल्झाउने प्रयास भइरहेको सेनाले बताएको छ ।

खबरपाटी
खबरपाटी