देश सम्हाल्ने र सुधार्ने शक्ति कांग्रेस मात्रै हो : सभापति थापा

देश सम्हाल्ने र सुधार्ने शक्ति कांग्रेस मात्रै हो : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान अवस्थामा देशलाई सम्हाल्ने र सुधार्ने शक्ति कांग्रेस मात्रै भएको बताएका छन् ।

धनुषाको जनकपुरधामस्थित कांग्रेस मधेस प्रदेश कार्यालयमा प्रदेशका आठवटै जिल्लाका सभापति, प्रदेश कार्यसमिति सदस्य तथा ३२ निर्वाचन क्षेत्रका प्रत्यक्ष उम्मेदवारहरूको भेलालाई सम्बोधन गर्दै सभापति थापाले देशले अहिले सक्षम नेतृत्व खोजिरहेको र त्यो जिम्मेवारी कांग्रेसले मात्र बहन गर्न सक्ने दाबी गरे ।

कांग्रेस भनेकै मधेस हो भन्ने बुझेरै आफू मधेसबाट उम्मेदवार बनेको उल्लेख गर्दै उनले मधेससँगै देशलाई पनि सम्हाल्ने प्रतिबद्धता व्यक्त गरे । पूर्वमन्त्रीसमेत रहेका थापाले देश सम्हाल्ने क्रममा मधेस कांग्रेसको प्राथमिकतामा रहने बताए ।

सभापति थापाले कांग्रेसको घोषणापत्र तयारीसम्बन्धी विशेष बैठकमा सहभागी हुन आफू दुई दिनका लागि काठमाडौं जाने जानकारी दिँदै घोषणापत्रका मुख्य तीन विशेषतामध्ये एक मधेस हुने बताए ।

निवर्तमान सभापति शेरबहादुर देउवासँग नियमित संवाद भइरहेको र पार्टीभित्र गुट–उपगुट समाप्त भएको दाबी गर्दै उनले रुख चुनाव चिह्न भएका उम्मेदवारलाई जिताउन नेता तथा कार्यकर्तालाई सक्रिय हुन निर्देशन दिए ।

कांग्रेस युवा र जेन–जीहरूको पार्टी भएको भन्दै ओझेलमा परेका मधेसका मुद्दा सम्बोधन गर्न सभा–सम्मेलनभन्दा घरदैलो अभियान प्रभावकारी हुने जिकिर गरे । काठमाडौं जानुअघि सभापति थापाले आजै मधेस प्रदेशका आठवटै जिल्लाका उम्मेदवार तथा जिल्ला सभापतिहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

खबरपाटी
खबरपाटी