काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सहरी स्वच्छता र सरसफाइ सबै सरोकारवालाको साझा जिम्मेवारी भएको स्पष्ट पारेकी छन्। उनले यस विषयमा कमजोरी गर्ने छुट कसैलाई नभएको उल्लेख गर्दै दोषारोपणभन्दा कार्यान्वयनमा जोड दिनुपर्ने बताइन्।
महानगर क्षेत्रभित्र फोहर संकलन, वर्गीकरण र ढुवानीको काम गरिरहेका निजी क्षेत्रका प्रतिनिधिसँग भएको छलफलमा सरसफाइका विद्यमान अभ्यास, दीर्घकालीन स्थायित्व तथा सुधारका नीतिगत र व्यावहारिक पक्षबारे विचार–विमर्श गरिएको हो। सो अवसरमा डंगोलले सडक, गल्ली, चोक, पार्क, ढल प्रणाली, सडक किनारा तथा आवासीय क्षेत्रका ढोकामा फोहर थुप्रिन नदिने व्यवस्था सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिइन्।
उनले नागरिकसँग प्रत्यक्ष जोडिने सेवा र विषयलाई महानगरपालिकाको प्रमुख प्राथमिकतामा राखिएको बताइन्। छलफलमा निजी क्षेत्रका तर्फबाट ध्रुवप्रसाद आचार्य र मित्र घिमिरे सहभागी थिए। उनीहरूले महानगरपालिकाबाट जारी निर्देशनहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।
छलफलका क्रममा फोहर उत्पत्तिको स्थानमै वर्गीकरण गर्ने, संकलनको समय र प्रक्रिया निश्चित गर्ने तथा संकलनअघि सूचना प्रवाह गर्ने प्रणालीलाई व्यवहारमा उतार्ने विषयमा सहमति भएको जनाइएको छ। यसैबीच, वातावरण विभागका अनुसार घरेलु फोहरसँगै निस्कने सुक्खा फोहर व्यवस्थापनका लागि महानगरपालिकाले सात क्षेत्रमा विभाजन गरी आय ठेक्का व्यवस्था लागू गरेको छ।