जेनजी अभियन्ता अजय सोडारीको स्वास्थ्य अवस्था गम्भीर, वीर अस्पतालमा भर्ना

जेनजी अभियन्ता अजय सोडारीको स्वास्थ्य अवस्था गम्भीर, वीर अस्पतालमा भर्ना

काठमाडौं । विभिन्न ६ बुँदे माग राख्दै काठमाडौंको माइतीघर मण्डलमा विगत ९ दिनदेखि आमरण अनसनरत जेनजी अभियन्ता अजय सोडारीलाई बुधबार वीर अस्पताल भर्ना गरिएको छ । स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो ।

लगातार ९ दिनसम्म अनसन बस्दा पनि सरकारले कुनै चासो नदेखाएको उनका समर्थकहरूले जनाएका छन् । जसका कारण उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको उनीहरूले जनाएका छन् । सरकारले जेनजीका मागहरूलाई बेवास्ता गरेको उनीहरूको आरोप छ ।

यी हुन् सोडारीका माग :
१. निर्वाचन गतिविधि तत्काल रद्द गरी सर्वपक्षीय सरकार गठनमार्फत देशलाई दिगो निकास दिनुपर्ने ।
२. जेनजी आन्दोलनका क्रममा पक्राउ परेका बन्दीहरूको तत्काल रिहाइ तथा दोषीमाथि हदैसम्मको कारबाही ।
३. भ्रष्टाचार अभियोग लागेका सम्पूर्ण व्यक्तिमाथि निष्पक्ष छानबिन र निर्मम कारबाहीको सुनिश्चितता ।
४. प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणाली लागु गरिनुपर्ने ।
५. संविधान संशोधन वा पुनर्लेखनमार्फत राज्यको पुनर्संरचना गरिनुपर्ने ।
६. विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गरिनुपर्ने ।

खबरपाटी
खबरपाटी