राज्यसंयन्त्र निकम्मा हुँदा सहकारीका बचतकर्ताको रकम डुब्यो : मन्त्री इङ्नाम

राज्यसंयन्त्र निकम्मा हुँदा सहकारीका बचतकर्ताको रकम डुब्यो : मन्त्री इङ्नाम

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङ्नामले विगतमा सरकारी निकायहरूले सहकारीमाथि कडा नियमन गर्न नसक्दा सहकारीहरू डुब्ने स्थिति आएको बताएका छन् ।

राष्ट्रिय सहकारी प्राधिकरणको वार्षिकोत्सवका अवसरमा उनले राज्यले सहकारीहरूमाथि कडा नियमन गर्न नसक्दा बचतकर्ताको अर्बौं डुबेको बताउँदै यसको जिम्मा राज्यले नै लिनुपर्ने बताए । राज्य आम नागरिकको जिम्मेवार निकाय भएकाले नागरिकको सम्पत्ति सुरक्षणको जिम्मा राज्यले लिनैपर्ने उनको भनाइ छ ।

"करोडभन्दा बढी बचतकर्ताको अहिले बिचल्ली भएको छ । राज्य आम नागरिकको जिम्मेवार निकाय हो । राज्यले त्यसको जिम्मा लिनुपर्छ," मन्त्री इङ्नामले भने, "राज्य भनेको राज्यको मातहतमा रहेका जसले राजकीय अधिकार प्रयोग गर्छ । जसले राजकीय अधिकार प्राप्त गर्छन्, ती सबै जिम्मेवार हुनुपर्छ । उनीहरूको निकम्मापनको कारणले सहकारीमा बेथिति भयो ।"

सहकारीमा बचत गर्नेहरू मात्रै नभई ऋणीहरूसमेत डुबेको मन्त्री इङ्नामको भनाइ छ । सहकारी सञ्चालकहरूले राज्य संयन्त्रसम्मै पहुँच पुर्‍याइ बदमासी गरेकाले सहकारीमा चरम बेथिति आएको बताए । उनका अनुसार सहकारीमा बचतकर्ता मात्रै नभइ ऋणी समेत डुबिरहेको अवस्था छ । ऋणीले सहकारीलाई पैसा तिरेको बताए पनि अभिलेख कतै नराखिँदा नतिर्ने सूचीमा परिरहेको उनको भनाइ छ ।

"सहकारीमा धेरै बचतकर्ता पीडित हुन पुगे । बचतकर्ता मात्रै नभइ ऋणीहरू पनि यहाँ त रोइरहेका छन् । विभिन्न अभिलेखहरूले ऋणीहरू पनि डुबिरहेको देखाउँछ," उनले भने, "ऋण कसलाई गएको हो, ऋण कसले डिपोजिट गरेको हो त्यो पनि देखिँदैन । कुनै परिचय खुल्दैन । केही हदसम्म ऋणीहरूले पैसा जम्मा गरिसकेको छ । यो पनि त्यहाँ उल्लेख गरेको पाइएन ।"
 

खबरपाटी
खबरपाटी