रास्वपाका वरिष्ठ नेता बालेन साहलाई जिताउन बाह्य शक्तिहरूले ठूलो लगानी गरिरहेको प्रचण्डको आरोप

रास्वपाका वरिष्ठ नेता बालेन साहलाई जिताउन बाह्य शक्तिहरूले ठूलो लगानी गरिरहेको प्रचण्डको आरोप

काठमाडौँ  - नेपाली कम्युनिष्ट कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहलाई जिताउन बाह्य शक्तिहरूले ठूलो लगानी गरिरहेको आरोप लगाएका छन्।

मंगलवार काठमाडौँमा आयोजित नेपाली कम्युनिष्ट पार्टीमा चुरे भावर पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। प्रचण्डले विचार, सिद्धान्त, त्याग, तपस्या र बलिदानको आधारमा अघि बढ्नेभन्दा स्टन्टको भरमा लोकप्रिय हुनेहरूलाई देशी, विदेशी शक्तिहरूले ठूलो लगानी गरिरहेको दावी गरे।

उनले मुलुकमा राष्ट्रिय तागत निर्माण गरी देश र जनताको पक्षमा काम गर्न आफूले कम्युनिष्ट र वामपन्थी शक्तिहरूबीचको एकता अभियानलाई तीव्रता दिनुपरेको बताए। 

प्रचण्डले भने, ‘अहिले देशमा विचार, सिद्धान्त, राजनीति, त्याग, तपस्याभन्दा स्टन्ट गरेको भरमा लोकप्रिय हुने र त्यस्तालाई नै अघि बढाउन देशी, विदेशी शक्तिहरूले ठूलो लगानी गरेको देखेका छौं। हामीले इतिहासको सम्मान गर्ने, विचारको सम्मान गर्ने, राजनीतिक मूल्यमान्यतामा आधारित आन्दोलनलाई संगठित गर्ने ऐतिहासिक आवश्यकता महसुस गरेर नेपाली कम्युनिष्ट पार्टी निर्माण प्रक्रियालाई र ध्रुवीकरण र एकता प्रक्रिया अघि बढाएका हौँ।’

उनले कम्युनिष्ट, देशभक्त शक्तिहरूको एकता प्रक्रियाले मात्रै मुलुकलाई संकटबाट जोगाउने भएकाले सम्बन्धित सबै पक्षले पार्टी एकता प्रक्रियामा समाहित हुनुपर्नेमा  जोड दिए।

खबरपाटी
खबरपाटी